इटहरी । झापाको बिर्तामोड नगरपालिका–१ स्थित एक बिवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौको क्षति भएको छ ।
बिर्तामोडको पश्चिम बस स्टेन्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतवार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टस्हरू जल्दा अन्दाजी ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरू भने जोगिएका छन् ।
बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५।१० बजे आगो नियन्त्रणमा आएको थियो । यसैगरी वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडमा दुई वटा गाई मरेका छन् । शनिबार राति परेको चट्याङले बिर्तामोड–१०, कुँवापानी बस्ने उदिम ओलीको अन्दाजी–२ लाख मूल्यको दुई वटा गाई मरेका हुन् ।
ओलीको आफ्नै ग्वाली घरमा बाँधेको २ वटा व्याउने गाई चट्याङले हानेर मरेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


