इटहरी । गोरखापत्रकर्मी चन्द्र पन्दाक (प्रयास) सम्मानित हुनुभएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले १९ औं गाउँसभा अधिवेशनबाट पन्दाकलाई पत्रकारिताको माध्यमबाट स्थानीय सरकारलाई थप प्रभावकारी बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो । पन्दाकसँगै पत्रकार खगेन्द्र अधिकारीलाई पनि सम्मान गरिएको छ । पन्दाक र अधिकारीलाई जनही ५ हजार रुपियाँ नगदसहित प्रमाणपत्रका साथै पुरस्कृत गरिएको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पन्दाक र अधिकारीलाई गाउँपालिकाले गाउँपालिकाका आधिकांश गतिविधिलाई प्रकाशन तथा प्रसारण गरेर पालिकाको गौरव र सेवा प्रवाह अभिवृद्धिका लागि खोजमूलक तथा समीक्षात्मक पत्रकारितामार्फत गाउँपालिकालाई जनउत्तरदायी र सेवाग्राहीमैत्री बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको हो ।   

गाउँपालिकाले १९ औं गाउँसभा अधिवेशनमार्फत पन्दाक र अधिकारीसहित उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, उत्कृष्ट पशुपालक, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने पर्यटन अभियन्ताहरूलाई समेत पुरस्कृत तथा सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिनुभयो ।