मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा सञ्चालन भएको ६ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमभएको छ। बुढीगंगा गाउँपालिका–६ स्थित सभाहलमा आयोजित तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरेका थिए। स्थानीय युवायुवती तथा नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप र व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले गाउँपालिकाले पूर्वाधार विकाससँगै मानव स्रोत विकासलाई पनि उच्च प्राथमिकतामा राख्दै विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले भने, “तपाईंहरूको बोल्ने कला र नेतृत्व क्षमताको विकास होस् भन्ने उद्देश्यले गाउँपालिकाले यो तालिम सञ्चालन गरेको हो। राम्रोसँग सिक्नुस्, सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुस्। आगामी दिनमा पनि यवाहरूका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। हामी जनताका लागि काम गर्न आएका हौं।”

अध्यक्ष मगरले बुढीगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, युवा तथा सामाजिक विकासलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै गाउँपालिकाको समग्र विकासलाई अगाडि बढाइरहेको बताए। सक्षम, दक्ष र नेतृत्वदायी युवा उत्पादन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो। तालिममा सहभागीहरूलाई उद्घोषण कला, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, सञ्चार सीप तथा व्यक्तित्व विकाससम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा गाउँ कार्यपालिकाकी सदस्य चन्द्रकला चौधरीसहित विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङका अनुसार तालिममा ३३ जनाको सहभागिता रहेको थियो। आयोजकले तालिमले स्थानीय युवाहरूको क्षमता अभिवृद्धि गर्दै दक्ष, आत्मविश्वासी तथा नेतृत्वदायी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको जनाएको छ। साथै, उपलब्ध अवसरको सदुपयोग गर्दै यस्ता तालिममा सक्रिय सहभागिता जनाउन स्थानीय युवायुवतीलाई आग्रह गरिएको छ।


