इटहरी । झापाको शिवसताक्षी नगरपालिकाले सामुदायिक कुकुर नियन्त्रण तथा रेबिज रोकथाम अभियान सुरु गरेको छ ।
सोमबार एकैदिन झिलझिले आसपासमा आधा दर्जनभन्दा बढी मानिसलाई सामुदायिक कुकुरले टोकेपछि स्थानीयवासी त्रसित बनेका छन् । कुकुरको आक्रमणबाट मानिस तथा गाईबस्तु असुरक्षित बनेपछि स्थानीयले नगरपालिकासँग तत्काल पहल गर्न माग गरेका थिए । घटनापछि नगरपालिकाले सबै सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने र सम्भव भएसम्म बन्ध्याकरण गर्ने व्यवस्था मिलाउन पशु सेवा शाखालाई निर्देशन दिएको थियो ।
नगर प्रमुख मेगाहाङ थोप्राका अनुसार मंगलबार बिहानदेखि नगरपालिकाको प्राविधिक टोली परिचालन गरी अभियान सुरु गरिएको छ । टोलीले सामुदायिक कुकुरको पहिचान, रेबिजविरुद्ध खोप तथा बन्ध्याकरणका लागि आवश्यक तयारी गरिरहेको छ । स्थानीयलाई यसमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । कुकुरको टोकाइबाट प्रभावित व्यक्तिहरूको उपचार व्यवस्थापन र रेबिज संक्रमण फैलिन नदिन नगरपालिका सतर्क रहेको नगर प्रमुख थोप्राले बताउनुभयो । नगरपालिकाले सर्वसाधारणलाई कुकुरको टोकाइ भएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
स्थानीय राम भेटवालले कुकुरप्रति मानवीय व्यवहार कायम राख्दै छाडा कुकुर व्यवस्थापन, खोप तथा बन्ध्याकरण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सुरक्षित समाज निर्माणका लागि कुकुर टोकाइ न्यूनीकरण र छाडा कुकुर व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।


