इटहरी । मोरङका दुई स्थानमा आज देखि “समुदाय स्तरमा विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माण सम्बन्धी तालिम तथा सचेतनामूलक कार्यक्रम“ एकैसाथ शुभारम्भ भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा यो कार्यक्रम सुरु भएको हो । स्थानीय तहका नगर प्रहरी र नागरिकलाई लक्षित गरी सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै दक्ष स्वयंसेवक समूह निर्माण गर्नु रहेको छ ।
असार १५ गतेसम्म चल्ने तालिमको पहिलो कार्यक्रम मोरङको कंकालिनी गणमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । सो अवसरमा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । त्यस्तै, दोस्रो कार्यक्रम रंगेली नगरपालिका–४ को वडा कार्यालयमा कार्यवाहक नगर प्रमुख भुमा पराजुलीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको थियो ।
तालिममा मोरङका विभिन्न स्थानीय तहका नगर प्रहरी र संघसंस्थाका गरी जम्मा ४० जना प्रशिक्षार्थी सहभागी छन् । सात दिनसम्म चल्ने यस कार्यक्रममा सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार र समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइनेछ ।


