इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकामा कृषि विकास र बाल स्वास्थ्य प्रवद्र्धनसँग सम्बन्धित दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

बसन्तपुर बजारमा आज देखि मिनी मार्केट सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूल तथा अन्य कृषि उपजको संकलन, भण्डारण र बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख माबोहाङले मिनी मार्केटले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उत्पादनपछि सुरक्षित भण्डारण र उचित बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा भवन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सघन सहरी विकास कार्यालय धनकुटाले ११ करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण गरेको उक्त भवन लालीगुराँस नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाले यसलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

यसैबीच, लालीगुराँस नगरपालिकाले “पूर्ण खोप सुरक्षित भविष्य” भन्ने मूल नारासहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम पनि सम्पन्न गरेको छ । गुराँस स्तम्भ बस स्टेसनमा आयोजित कार्यक्रममा बालबालिकाको नियमित खोप सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो । वक्ताहरूले स्थानीय स्रोतको उपयोग, समुदायको स्वामित्व तथा सबै सरोकारवालाको सहकार्यबाट मात्रै पूर्ण खोप अभियानलाई दिगो र प्रभावकारी बनाउन सकिने बताएका थिए ।

नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रमले पूर्ण खोप सुनिश्चितता तथा बाल स्वास्थ्य प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। नगरपालिकाले आगामी दिनमा पनि सबै बालबालिकाको खोप पहुँच सुनिश्चित गर्न आवश्यक पहललाई निरन्तरता दिने जनाएको ।