इटहरी  । बसाइँसराइका कारण बाँझो बन्दै गएको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती विस्तार गर्न आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाले छथर जोरपाटी गाउँपालिका–३ र ४ का बन्चरे, सिभुवा तथा तेलियाका पाथीभरा, गुठ, पिप्ले र मार्से लगायतका क्षेत्रमा स्थानीय किसानसँगको लागत साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरेको हो। करिब एक हजार २०० रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई माल्दह जातका ६ हजार बिरुवा वितरण गरिएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाका अनुसार बसाइँसराइका कारण खाली भएको जमिनको सदुपयोग गर्दै त्यस क्षेत्रलाई व्यावसायिक कृषि उत्पादन केन्द्रका रूपमा विकास गर्न सरकारको १० लाख रुपियाँ  अनुदान र किसानको ६ लाख २५ हजार रुपियाँ लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।

स्थानीय समावेशी सक्रिय कृषि सहकारी संस्था मार्फत सञ्चालन गरिएको कार्यक्रममा ६ हजार आँपका बिरुवासँगै चार वटा यान्त्रिक हलो र नौ हजार ३०० मिटर प्लास्टिक पाइप पनि उपलब्ध गराइएको छ। सहकारीका अध्यक्ष डेकबहादुर लिम्बूले परम्परागत खेती प्रणाली कमजोर बन्दै गइरहेको अवस्थामा किसानलाई दीर्घकालीन आम्दानी दिने बहुवर्षीय बालीतर्फ आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।