इटहरी। भारतको बथनाह–कटहरी रेल यातायात अन्तर्गत बथनाहादेखि आइसिपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समितिलाई दिने तयारी गरिएको छ । कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका चार ट्र्याकमध्ये दुई वटा ट्र्याक इन्टरमोडलले प्रयोग गर्ने छ । कार्गो रेलसेवासमेत इन्टरमोडलले नै गर्ने छ ।
ट्र्याक हस्तान्तरण नेपाल रेल कम्पनी लिमिटेडले गर्नुपर्ने हुन्छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलका अनुसार कति वर्षका लागि दिने र कसरी सञ्चालन गर्ने भन्ने विषयलाई निरूपण गर्न समितिले काम गरिरहेको छ । यसका लागि नेपाल रेल कम्पनी लिमिटेडले सहजीकरण गरिरहेको छ । रेल कम्पनी लिमिटेडका प्रबन्धक परिवेश पराजुलीले इन्टरमोडलसँग समन्वय गरेर कार्गो रेल सञ्चालनको तयारी भइरहेको बताउनुभयो । यसअघि नेपाल रेल कम्पनी लिमिटेडका प्रबन्धक निर्देशक रहनुभएका रेल विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रतिनिधिसमेत सम्मिलित समितिले सिफारिस गर्ने छ । महानिर्देशक पोखरेलले अहिले रेल कम्पनी लिमिटेडमा प्रबन्धक निर्देशक छुट्टै रहेका कारण संयोजन भइरहेको बताउनुभयो । कार्गो रेल सञ्चालनका लागि ट्र्याक हस्तान्तरण गर्नुअघि इन्टरमोडलले योजना दिनुपर्ने हुन्छ । त्यसका लागि समितिले सिफारिस गरेर मन्त्रालयमा पठाउने छ । तत्कालका लागि रेलवे लिक परीक्षण गरेर सञ्चालन गर्न सहज छ कि छैन भन्ने यकिन गरिदिन भारतीय रेल इर्कोनलाई आग्रह गरिएको थियो ।
इर्कोनले मर्मत गरेपछि एनओसी ९नो–अब्जेक्सन सर्टिफिकेट० प्राप्त भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरिकृष्ण मिश्रले जानकारी दिनुभयो । अहिलेसम्म रेल विभागले निर्माण र नेपाल रेल कम्पनी लिमिटेडले सञ्चालन गर्ने क्षेत्राधिकारमा रेलवेसेवा रहँदै आएको थियो । आइसिपी व्यवस्थापन र आयातनिर्यात भएका मालवस्तुको हेन्डलिङको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत पर्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने रेलमार्ग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने इन्टरमोडलबिचको तादात्म्य नमिल्दा कार्गो रेल सञ्चालनमा समस्या उत्पन्न भएपछि त्यसको निकास निकाल्ने गरी तयारी थालिएको हो । रेल विभागका महानिर्देशक पोखरेलका अनुसार निर्माणपछि सञ्चालनको जिम्मेवारी नेपाल रेल कम्पनी लिमिटेडसँगै हुने भए पनि तत्काल कार्गो रेलको व्यवस्थापन इन्टरमोडललाई दिन खोजिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक मिश्रका अनुसार तीन वर्षअघि २०८० जेठ १८ मा उद्घाटन भएको कार्गो रेल दोस्रो पटक मालवस्तु लिएर आइपुगेको छैन । पारवहन प्रोटोकलसँग सम्बन्धित विषयसमेत समाधान भइसकेको छ ।
उपनिर्देशक मिश्रका अनुसार खास गरी यात्रु रेलसेवा सञ्चालन गर्ने नेपाल रेल कम्पनी लिमिटेडले कार्गो रेलको क्षेत्र हेर्न सहजसमेत छैन । त्यसैले अहिले नेपाल रेल कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिको समझदारी अनुरूप नै कार्गो रेलसँग सम्बन्धित क्षेत्र इन्टरमोडलले हेर्ने गरी तयारी गरिरहेको छ । कार्गो रेल सञ्चालनका लागि ट्र्याक हस्तान्तरण गर्ने विषयमा नेपाल रेल कम्पनी लिमिटेडका प्रबन्धक पराजुलीले नेपाल कस्टम यार्डको निरीक्षण सोमबार गर्नुभएको थियो । यसपछिको निर्णय प्रक्रिया १० दिनभित्र टुङ्ग्याउने पराजुलीले बताउनुभयो । इन्टरमोडलले सञ्चालन गर्ने तयारी थालेसँगै अब तेस्रो मुलुकबाट आउने मालवस्तुका कन्टेनरमा ‘एनवाइसी विराटनगर’ को स्टिकर टाँस गर्ने गरी नामकरणसमेत भएको छ । यो स्टिकर टाँसेपछि विशखापट्टनम वा कोलकाता बन्दरगाहामा आएका कन्टेनरसमेत एनवाइसी विराटनगर अर्थात् नेपाल कस्टम यार्ड विराटनगरमा अनलोड हुने भन्ने बुझिने उपनिर्देशक मिश्रले जानकारी दिनुभयो । नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डङ्गोलले कार्गो रेल सञ्चालनको जिम्मेवारी दुई वर्षअघि नै पाए पनि प्रक्रियागत रूपमा यसको हस्तान्तरण हुनुपर्ने प्रश्न उठ्दै आएको थियो । अहिले त्यसको समाधान खोजेर दुई वटा ट्र्याकमा मालवस्तु बोकेको कार्गो रेल ल्याउने गरी तयारी भइरहेको हो ।
सबै प्रक्रिया पूरा भएपछि पनि भारतीय कस्टमले आइपी लिङ्क दिनुपर्ने ट्रान्स नेपाल टिआरएस लोजी पार्क प्रालिका प्रतिनिधि लक्ष्मी सुब्बाले बताउनुभयो । उहाँका अनुसार तीन वर्षयता नचलेको रेलवेको लिकको ट्र्याक चेन्जर चोरी भएका छन् । एसएन कन्ट्रोल रुमबाट लिक चेन्जर चलाउन सकिँदैन । त्यसैले यसलाई विद्युतीय नभई मेनुअल रूपमा चलाउनका लागि भारतीय पक्षसँग कुरा भइरहेको छ ।


