इटहरी । “सचेत नागरिक सुरक्षित वडाः लागु औषध विरुद्धको हाम्रो यात्रा“ भन्ने नाराका साथ इटहरी उपमहानगरपालिका वडा नं. २ मा विद्यालयस्तरीय सचेतना अभियान उत्साहजनक रूपमा अगाडि बढेको छ ।
वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जालको आयोजनामा वडाका ८ वटा विद्यालयमा सञ्चालन गरिने अभियान अन्तर्गत हाल सम्म दुईवटा विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ। अभियानको सुरुवात गत असार ८ गते ब्राइट फ्युचर बोर्डिङ स्कुलबाट भएको थियो भने असार ९ गते होराइजन एकेडेमीमा दोस्रो कार्यक्रम गरिएको छ ।
बाँकी ६ विद्यालयमा पनि चाँडै कार्यक्रम गरिने आयोजकले जनाएको छ। वडा बाल सञ्जालका सभापति सविन तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमहरूमा इटहरी–२ का वडा अध्यक्ष मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसै गरी विशिष्ट अतिथिका रूपमा इटहरी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य भिमा कुमारी तुम्बाहाम्फे र दुर्गा धमला रहनुभएको थियो भने अन्य विशेष सहयोगी अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
प्रशिक्षक सन्देश दङ्गालले प्रोजेक्टर मार्फत लागुऔषधको असर र कानुनी प्रावधानबारे विद्यार्थीलाई सचेत गराउनुभएको थियो। बाल सञ्जालकी उपाध्यक्ष सुविज्ञा कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई इटहरी उपमहानगरपालिकाद्वारा जारी आधिकारिक प्रमाणपत्र वितरण गरिएको थियो। युवा अवस्थाका विद्यार्थीलाई कुलतबाट जोगाउन यो अभियान कोशेढुङ्गा सावित हुने स्थानीयले विश्वास व्यक्त गरेका छन्।


