इटहरी । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १८ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४९ करोड ८९ लाख १८ हजार १ सय ७७ रुपैयाँको बजेट पारित गरेको छ।
गाउँपालिकाले विकास, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको हो। बजेटमा कार्तिक–कुलुङ–चौकीडाँडा–दोभाने–साल्पा सडक ग्राभेलका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार उन्नत जातको गाईपालन प्रवद्र्धनका लागि १ करोड ८० लाख र स्थानीय उत्पादन संरक्षणका लागि चिस्यान केन्द्र (कोल्ड सेन्टर) निर्माण गर्न १ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।
यस्तै, कुलुङ अयाबे खानेपानी आयोजनाका लागि १ करोड ५० लाख तथा प्रसिद्ध मुन्दुम ट्रेलसहित साल्पा क्षेत्र पर्यटन पूर्वाधार विकासका लागि १ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । पूर्वाधारतर्फ गोठे बजार–वेडेखुवा–खोला मोटरेबल पुल र याक्सा नागदेह मोटरेबल पुल निर्माणलाई बजेटमा समेटिएको छ ।
सामाजिक क्षेत्रतर्फ स्वास्थ्य इकाइको व्यवस्थापन, शिक्षक दरबन्दी नभएका विद्यालयमा अनुदान निरन्तरता र युवा स्वरोजगारका लागि सहुलियत कर्जा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँसभाको अर्को बैठक आगामी असार २६ गते बस्नेछ ।


