इटहरी। पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपियाँको अनुमानित आयव्यय ९बजेट० प्रस्तुत गरेको छ।

गत वर्ष यस पालिकाको बजेट १ अर्ब १० करोड ५१ लाख ३३ हजार २०१ रुपियाँ रहेकामा यस वर्ष गत वर्षको तुलनामा करिब १० करोड रुपियाँ बजेट घटेको हो। मङ्गलबार आयोजित नगर सभाको १९ औँ अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। नगर सभामा प्रस्तुत बजेट वक्तव्य अनुसार चालुतर्फ ७२ करोड ६३ लाख ३६ हजार रुपियाँ र पूँजीगततर्फ २७ करोड ८४ लाख ६८ हजार ३४२ रुपियाँ विनियोजन गरिएको छ।

नगरपालिकाको यस अधिवेशनले कृषि, स्वास्थ्य, शिक्षा, पशुपालन र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ। नगरपालिकाले पशुपालन र कृषिसँगै स्वास्थ्य तथा पूर्वाधार विकासमा समेत विशेष जोड दिएको छ। नगर सभामा नगर प्रमुख मित्रप्रसाद काफ्लेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख न्यौपानेले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित भएको छ। अधिवेशनले विभिन्न विधेयकहरू समेत संशोधन गरेको छ।

यसैबिच, पाँचथर जिल्लाका अन्य सातवटै गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन्। अधिकांश स्थानीय तहले कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। जिल्लाको हिलिहाङ गाउँपालिकाले भने असार ९ गते नै आफ्नो नीति तथा कार्यक्रम ल्याएको थियो।