इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कृषि, सिँचाइ र पशुपालन क्षेत्रमा एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ।
उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार राति गाउँपालिका परिसरमा कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँको बजेट प्रस्ताव गर्नुभएको हो। कृषि, पशुपालन र सिँचाइका लागि विनियोजित उक्त रकम कुल बजेटको २।४४ प्रतिशत हो। त्यस्तै, पूर्वाधार विकासतर्फ विनियोजित ५८ करोड ९४ लाख रुपियाँको ३।२२ प्रतिशत हिस्सा यस क्षेत्रका कार्यक्रमका लागि छुट्याइएको छ।
गाउँपालिकाको २१औँ गाउँसभाको अध्यक्षता गर्दै अध्यक्ष राजमति इङ्नामको उपस्थितिमा उपाध्यक्ष अधिकारीले बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट ४७ करोड ८५ लाख ७० हजार रुपियाँ, कोशी प्रदेश सरकारबाट ४ करोड ४० लाख ३ हजार ७५५ रुपियाँ तथा आन्तरिक स्रोतबाट २५ करोड ६५ लाख १६ हजार २४५ रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ।
आन्तरिक स्रोतमध्ये २० करोड ६५ लाख १६ हजार २४५ रुपियाँ चालु आर्थिक वर्षको भुक्तानी दायित्व ९दायित्व रकम० रहेको गाउँपालिकाले जनाएको छ। खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ९ करोड २६ लाख रुपियाँ, आर्थिक विकासतर्फ ३ करोड २० लाख ९० हजार रुपियाँ, सामाजिक विकासतर्फ ५ करोड १० लाख रुपियाँ, पूर्वाधार विकासतर्फ ५८ करोड ९४ लाख रुपियाँ तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ४० लाख रुपियाँ विनियोजन गरिएको छ।
विषयगत बजेट विनियोजनअनुसार शिक्षा क्षेत्रमा सबैभन्दा बढी २ करोड रुपियाँ छुट्याइएको छ। त्यस्तै पशुपालन तथा कृषिमा १ करोड १० लाख रुपियाँ र सिँचाइ कार्यक्रमका लागि ८० लाख रुपियाँ विनियोजन गरिएको छ। बजेट प्रस्तावअघि गाउँपालिका अध्यक्ष राजमति इङ्नामका तर्फबाट वडाध्यक्ष चरण गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
