इटहरी  । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको समूहले बुधबार मनोनयन दर्ता गराएको छ ।

संघको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिरहेका बेला भण्डारी समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्दै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो । भण्डारीले आफूलाई अनुभव, ऊर्जा र स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साझा हितका लागि नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले उद्योग वाणिज्य संघलाई अझ समावेशी, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इटहरीको व्यापारिक क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारी यसअघि उद्योग वाणिज्य संघको सदस्य तथा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धा नवराज काफ्ले र गायत्री कटुवाल भण्डारीबीच हुने देखिएको छ । प्रारम्भिक चरणमा अन्य आकांक्षीहरू देखिए पनि अन्ततः दुई पक्षीय प्रतिस्पर्धा हुने अवस्था बनेको छ । काफ्ले समूहलाई नेपाली कांग्रेस र एमाले निकट व्यवसायीहरूको समर्थन रहेको बताइँदा भण्डारी समूहलाई रास्वपा तथा माओवादी केन्द्र निकट व्यवसायीहरूको साथ रहेको चर्चा छ ।

यसपटक उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा करिब २ हजार ३ सय ६५ जना नवीकरण भएका सदस्य मतदाताले मतदान गर्नेछन्। बजार क्षेत्रका मतदातालाई निर्णायक मानिएको छ र दुवै पक्षले उनीहरूलाई आफ्नो पक्षमा आकर्षित गर्न चुनावी अभियान तीव्र बनाएका छन् ।  निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार २७ गते मतदान सम्पन्न हुने र सोही दिन मतगणनापछि नतिजा घोषणा गरिनेछ ।