इटहरी । सुनसरीको इटहरी र रामधुनीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागू औषध नियन्त्रण अभियानका क्रममा ६४।५७ ग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका–१७ पकलीमा चेकजाँच गर्ने क्रममा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा युवराज बस्नेतको साथबाट ०।६८ ग्राम ९छ सय असी मिलिग्राम० ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त लागू औषध इटहरी–१७ का सौकात मियासँग खरिद गरेको बताएका थिए। त्यसपछि प्रहरीले सौकात मियालाई समेत नियन्त्रणमा लिएको हो। त्यसैदिन दिउँसो ३ः५५ बजे इटहरी–१७ स्थित स्टार लाइट खाजा घर होटलमा छापा मार्दा होटल सञ्चालक साहीदुल मियाको साथबाट ०।९६ ग्राम ९नौ सय साठी मिलिग्राम० ब्राउन सुगबरामद भएको प्रहरीले जनाएको छ।
यस्तै राति ९ः३० बजे रामधुनी नगरपालिका–६ सौरनामा गरिएको चेकजाँचका क्रममा सोही स्थानका ४८ वर्षीय विजय राजधामीको साथबाट ६२।९३ ग्राम ९बैसठ्ठी ग्राम नौ सय तीस मिलिग्राम० ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद ६३ हजार ८२० रुपैयाँ तथा दुई थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ। यी तीनवटा कारबाहीमा गरी कुल ६४।५७ ग्राम ९चौसठ्ठी ग्राम पाँच सय सत्तरी मिलिग्राम० ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई बरामद लागू औषध, नगद र डिजिटल तराजुसहित इलाका प्रहरी कार्यालय पकलीमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


