इटहरी । युवा पत्रकार विकल रेग्मी प्रतिष्ठित रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्ने उक्त अवार्डअन्तर्गत रेग्मीले खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा उत्कृष्ट पत्रकारिताका लागि सम्मान प्राप्त गरेका हुन्।

काठमाडौंमा आयोजित विशेष समारोहमा डिस्ट्रिक्ट गभर्नर रोटेरियन बिनोद कोइरालाले रेग्मीलाई प्रमाणपत्रसहित नगद रु। ५१ हजार प्रदान गर्दै सम्मान गरेका थिए। पत्रकारितामा व्यावसायिक उत्कृष्टता, जनहितका विषयको प्रभावकारी उठान तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी मुद्दालाई निरन्तर प्राथमिकताका साथ प्रस्तुत गरी समाजमा सकारात्मक प्रभाव पुर्‍याएको योगदानको कदरस्वरूप रेग्मीलाई यस वर्षको प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

रोटरी जर्नो अवार्ड–२०२६ अन्तर्गत आधारभूत शिक्षा, खानेपानी तथा सरसफाइ, रोग रोकथाम तथा उपचार, मातृ तथा शिशु स्वास्थ्य, वातावरण तथा जलवायु परिवर्तन, स्थानीय शान्ति तथा द्वन्द्व समाधान र सामुदायिक एवं आर्थिक विकास गरी सात विधामा उत्कृष्ट पत्रकारलाई सम्मान गरिएको छ। यस वर्ष रेग्मीसहित सात जना पत्रकार विभिन्न विधामा पुरस्कृत भएका छन्।

रोटरी जर्नो अवार्डलाई समाज रूपान्तरणमा योगदान पुर्‍याउने, जनउत्तरदायी र प्रभावकारी पत्रकारितालाई प्रोत्साहन गर्ने प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ।