इटहरी । स्थानीय इतिहास, विकास, सामाजिक रूपान्तरण र समसामयिक विषयहरूको अध्ययन–अनुसन्धानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पथरी शनिश्चरे नगरपालिकाले प्रकाशन गरेको ‘पथरी शनिश्चरे लेखमाला–१’ शुक्रबार एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ । 

नगरपालिकाले पहिलोपटक प्रकाशनमा ल्याएको यस महत्वपूर्ण लेखसङ्ग्रहमा नगरभित्र कार्यरत १० जना सञ्चारकर्मीका खोजमूलक तथा विश्लेषणात्मक लेखहरू समावेश गरिएका छन्। पुस्तकमा शिक्षा, स्वास्थ्य, कृषि, बसाइँसराइ, सिमसार संरक्षण र लागूऔषध दुव्र्यसन जस्ता स्थानीय जनजीवनका विविध पाटा र चुनौतीहरूलाई तथ्यगत रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाका सूचना संयोजक सन्तोष राईले स्थानीय परिवेशमा केन्द्रित ज्ञान, अनुसन्धान र अभिलेखीकरणको संस्कृतिलाई प्रवद्र्धन गर्न लेखमाला प्रकाशन सुरु गरिएको र यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

लेखमाला लोकार्पणकै अवसरमा नगरपालिकाले समाजमा योगदान पु¥याएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ। उत्कृष्ट सञ्चार माध्यमतर्फ ‘सेवारो पोष्ट अनलाइन’का प्रकाशक तथा सम्पादक फिपराज बेघा नगद २५ हजार रुपैयाँ र क्रियाशील पत्रकारतर्फ प्रेम केडी भट्टराई नगद १५ हजार रुपैयाँसहित सम्मानित हुनुभएको छ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापो, लेखनवृत्ति छनोट समितिका संयोजक जीवन खतिवडा, नगर प्रवक्ता नवीनजङ कार्की, वडा नं. १ का अध्यक्ष भीमकुमार राई र वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो। यो पुस्तक नगरको प्राज्ञिक विकास र भावी पुस्ताका लागि एउटा महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास लिइएको छ ।