इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको सो मिडिया सम्मेलनमा संचारमाध्यमको अवस्था, निजी संचारमाध्यमबाट सरकारी सन्देश हट्दाको परिणाम र पत्रकारहरुको सुरक्षाबारे छलफल भएको छ । सम्मेलनमा नेपाल पत्रकार महासंघका र्पूव केन्द्रिय अध्यक्षहरु शिव गाँउले, डा. महेन्द्र विष्ट, विष्णु निष्ठुरी लगायतलाई सम्मान गरिएको थियो ।


