इटहरी । आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ ।
इलाममा सन् २०१२ बाट शुुरुगरिएको हात्तीपाइले निवारण अभियानमा यो वर्ष अन्तिम सर्वेक्षण रहेको जनाइएको छ । इलाममा न्यून सङ्क्रमण भएकाले यसपटक कक्षा एक र दुईका बालबालिकाको रगत परीक्षण गरेर सर्वेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनुभयो । शाक्यले यसअघि इलाममा १२ जना पुराना बिरामी भएपनि उनीहरूले औषधी सेवन गरिरहेको बताउनुभयो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्र्तगत कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले जिल्लाका ५९ विद्यालयका कक्षा एक र दुईका बालबालिकाको परिक्षण गर्न लागेको हो । परिक्षरणका क्रममा छ जना भन्दा कम व्यक्तिमा हात्तीपाइलेको सङ्क्रमणको सम्भावना देखिए त्यसलाई सकारात्मक मानिने जिल्ला स्वास्थ्य प्रमुख शाक्यले बताउनुभयो । कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले अभिमुखीकरण कार्यक्रम गरि जिल्लाका सरोकारवालालाई हात्तीपाइले सर्वेक्षणका विषयमा जानकारी गराएको छ ।


