इटहरी उपमहानगरपालिका वडा नम्बर ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ। तालिमको उद्घाटन वडा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा वडा सचिव रिता सुब्बा, वडा अन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

तालिममा प्रशिक्षकका रूपमा विराट टेलिभिजनका डाइरेक्टर तथा ट्रेनर सीमा बस्नेत र विकल पौडेलले सहजीकरण गर्नेछन्। तालिमले सहभागीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सञ्चार सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रमुख अतिथि वडा अध्यक्ष उमेश सुवेदीले यस्ता सीपमूलक तालिमले समुदायमा सक्षम नेतृत्व विकास गर्न तथा युवादेखि महिलासम्म सबै वर्गलाई आत्मविश्वासी र सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रम उद्घाटन सत्रको अध्यक्षता गर्दै महिला जनप्रतिनिधि मिना रसाइलीले विशेष गरेर महिलाहरूको बोल्ने क्षमता विकास गर्नका लागि यस्तो बजेट छुट्याइएको र यसले महिलाहरूको बोल्ने विकास क्षमता अभिवृद्धि हुने विश्वास लिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।



