इटहरी । कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे तापनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवद्र्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको धारणा राखेका छन्। कार्यक्रममा उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले पुस्तकमाथि समीक्षात्मक परिचर्चा गर्नुभएको थियो।

परिचर्चाका क्रममा उप्रेतीले लेखक बराल स्वयं अधिकांश पर्यटकीय गन्तव्यहरूमा पुगेर त्यहाँको संस्कृति, भूगोल र स्थानीय अनुभूतिलाई पुस्तकमा समेटेको बताउनुभयो। त्यस्तै, पत्रकार अनुपमले यस कृतिले पर्यटनलाई केवल व्यावसायिक दृष्टिकोणबाट मात्र नभई स्थानीय पहिचान र समाजसँग जोडेर प्रस्तुत गरेकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्राकृतिक र साहसिक पर्यटनका क्षेत्रमा देशकै सम्भावनायुक्त प्रदेश भए पनि सोचेअनुरूप विकास नभएकाले स्थानीय तह र निजी क्षेत्रबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

लेखक बरालले ओझेलमा परेका सम्पदालाई दस्तावेजीकरण गर्नु पुस्तकको मुख्य उद्देश्य रहेको बताउनुभयो भने प्रतिष्ठानका अध्यक्ष प्रदीप रेग्मीले पर्यटन विकासमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।