इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो बाँझो जमिन र युवाको वैदेशिक पलायनका कारण कृषि क्षेत्र संकटतर्फ धकेलिँदै गएको भन्दै उत्पादनमुखी कृषि प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ।

राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खेतीयोग्य जमिन बाँझो रहनु प्रदेशको कृषि उत्पादनका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको उल्लेख गर्दै यसले खाद्य सुरक्षामा समेत असर पार्न सक्ने बताउनुभयो। उहाँले कोशी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती, कृषिमा नवप्रवर्तन, बजारीकरण, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्परा नेपाली संस्कृति र पहिचानसँग जोडिएको मौलिक पर्व भएको उल्लेख गर्दै कृषकको श्रम र योगदानप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा समृद्ध कोशी प्रदेश निर्माणका लागि सरकार, किसान र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।