इटहरी । मोरङमा मंगलबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । 

उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित तरुण चोकमा उर्लाबारी–मधुमल्ला सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खसेर उर्लाबारी–६ निवासी २० वर्षीय देवेन्द्र मगरको मृत्यु भएको हो ।

बिहान करिब ७ः१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक झापाको दमक नगरपालिका–४ निवासी १९ वर्षीय बुद्ध तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । यस्तै, बिहान करिब ५ः३० बजेतिर मोरङको जहदा गाउँपालिका–२ स्थित मिलन चोकमा प्रदेश १–०४–००१ ख ००८७ नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको बस सडकबाट अनियन्त्रित भएपछि भएको दुर्घटनामा एउटै वडाका १८ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । दुर्घटनामा जहदा–२ बस्ने १८ वर्षीया राधा ऋषिदेव, १५ वर्षीया रन्जिता ऋषिदेव, १४ वर्षीया पुष्पा ऋषिदेव, २२ वर्षीया सरस्वती ऋषिदेव, ५ वर्षीय रितेश ऋषिदेव, २० वर्षीय विशाल ऋषिदेव, १९ वर्षीया काजल ऋषिदेव, ७ वर्षीय विशाल ऋषिदेव, १९ वर्षीय कृष्ण ऋषिदेव, १६ वर्षीय विशाल ऋषिदेव, १७ वर्षीया राधिका ऋषिदेव, २० वर्षीया बुधनी ऋषिदेव, १५ वर्षीया राधा ऋषिदेव, १९ वर्षीया रुपा ऋषिदेव, ९ वर्षीया रिया ऋषिदेव, १४ वर्षीय ओम ऋषिदेव, ११ वर्षीय सुमन ऋषिदेव र १५ वर्षीय राज ऋषिदेव घाइते भएका प्रहरीले जनाएको छ ।

सबै घाइतेको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । दुर्घटनापछि चालक फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।