काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, बैठकले गत बुधबार नेपाल(चीन सीमा रसुवागढी एवम् भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।