काठमाडौं । बाढीपहिरोको कहरबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ शहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प नेपाल–तिब्बत सीमानजिकै बाढीप्रभावित क्षेत्रबाट सयौँ माइल टाढा गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन । यसै साताको सुरुवातमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि दुवै देशमा उद्धार तथा राहत कार्य जारी छ । उक्त विपद्‌मा सयौँ मानिसको मृत्यु भएको छ भने अझै सयौँ बेपत्ता छन् ।

 यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार तिब्बतमा भइरहेको उद्धार कार्यबारे शीर्ष अधिकारीहरूसँग बैठक गरेका छन् । अधिकारीहरूले हिमताल, हिमनदी तथा अन्य भौगर्भिक विपद्को जोखिम अझै कायम रहेको चेतावनी दिएका छन् । सीमा क्षेत्रमा भर्खरै बनेको ब्यारियर लेक फुट्न सक्ने जोखिमसमेत रहेको चीनले जनाएको छ ।

 पानीको सतह बढेपछि नेपालले पनि बाढीको नयाँ चेतावनी जारी गरेको छ । जोखिमपूर्ण क्षेत्रका बासिन्दा र उद्धारकर्मीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । अर्थात्, बाढी–पहिरोको विपद्‌बाट तंग्रिन नपाउँदै सीमा क्षेत्रमा फेरि भूकम्प र थप बाढीको जोखिम देखिएको छ ।