इटहरी । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडकअन्तर्गत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आग्रह गर्दा पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जिनियर आनन्दकुमार शाहमाथि स्थानीय कामदारले निर्घात कुटपिट गरेका छन् ।
सडक निर्माणको नियमित अनुगमनका क्रममा शाहले उक्त सडक खण्डको निर्माण कार्य प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यसलगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले खटाएको क्षेत्रमा कर्मचारी अनुगमन गर्न जाँदा स्थानीय कामदारबाट कर्मचारी कुटिएका छन् । कुटपिटबाट शाहको टाउकोमा पाँच वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा चोटपटक र नीलडाम देखिएको छ । उहाँको जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज ९विराटनगर० मा रिफर गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा हालसम्म ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख ९डीएसपी० राजु लामाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुजन भनिने प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र निरज बोगटी रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको र घटनाको यथार्थ विवरणका आधारमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने उहाँले बताउनुभयो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय भोजपुरका शाखा अधिकृत विष्णु लिम्बूका अनुसार कार्यस्थलमा खटिएका कर्मचारीमाथि कुटपिट गर्नु गैरकानुनी भएको उल्लेख गर्दै घटनाबारे तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । सोही आधारमा प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएको हो । आरोपितमाथि आवश्यक कानुनी कारबाही हुने र कार्यक्षेत्रमा कर्मचारीलाई सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न प्रशासनले पहल गर्ने उहाँले बताउनुभयो ।
यता, घटनापछि पूर्वाधार विकास कार्यालय भोजपुरका कर्मचारीहरूले आफ्नो सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । गुणस्तर नियन्त्रणका लागि सुझाव दिँदा कर्मचारीमाथि कुटपिट हुनु दुःखद भएको र यसले कार्यस्थलमा काम गर्न कठिन हुने कार्यालय प्रमुख रेड्डीले बताउनुभयो । कार्यालयका अन्य प्राविधिक कर्मचारीहरूले दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न र कार्यक्षेत्रमा सुरक्षा सुनिश्चित नभएसम्म नियमित काममा फर्किन नसकिने भन्दै विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


