इटहरी । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ । झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ सवारी ज्यान मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना तथा मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागुऔषध मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना सजाय तोकिएका प्रतिवादी हुन् ।
कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागुऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएका प्रतिवादी भएकाले झापा कारागार चलान गरिएको छ । त्यसैगरी, सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद र रु दुई हजार जरिवाना सजाय तोकिएका इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।


