इटहरी । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमण देखिएसँगै नियन्त्रणका लागि धनकुटामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।
बुधबार स्वास्थ्य कार्यालय धनकुटाको आयोजनमा र्यालीसहितको सचेतना कार्यक्रमसहित अभियान सुरु गरिएको हो । कोशी राजमार्ग अन्तरगत धनकुटाको भीमनारायण चोकदेखि बसपार्कसम्म र्यालीसहितको सचेतना कार्यक्रम साथै ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गु रोगका बारे स्थानीयस्तरका नागरिकलाई जानकारी गराउँने उद्देश्यले डेङ्गु रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिनुभयो । सचेतना अभियानमा डेङ्गुबारे जानकारी, बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी दिइएको छ । अभियान हरेक शुक्रबार जिल्लाका सातवटै स्थानीय तहमा डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख बञ्जाडेले बताउनुभयो ।
यस्तै कार्यक्रम बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हरेक टोल, गाउँ देखि स्थानीय तहसम्म हप्तामा एक दिन खोज र नष्ट गर अभियान सञ्चालन गरेर डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय अपाउने बताउनुभयो । यसका लागि सबै सरोकारवाला निकाय तत्पर तथा तयारी रहनुपर्ने उहाँको भनाइ थियो । स्वास्थ्य कार्यालयका अनुसार डेङ्गु सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य रहेको छ । लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेङ्गुको सङ्क्रमण घटाउन सकिने जनाइएको छ ।
जिल्लामा चालु आर्थिक वर्षदेखी हालसम्म ४२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जसमा सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा २५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै धनकुटा नगरपालिकामा छ जनामा, पाख्रिबास नगरपालिकामा ५ जनामा, साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा ३÷३ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिनुभयो । यता चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा भने सङ्क्रमण देखिएको छैन् । धनकुटामा अघिल्लो आर्थिक वर्षमा १७३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । सचेतना कार्यक्रममा स्वास्थ्य कार्यालय कर्मचारी, जिल्ला समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।


