इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवहारिक अभ्यास गराइएको छ । 

विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत ६ सय ५०  बढी छात्रछात्राले आगामी एक वर्षे कार्यकालका लागि स्कुल क्याप्टेन र भाइस क्याप्टेन प्रत्यक्ष मतदान मार्फत चयन गरेका हुन्।  यस कार्यक्रमले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणाली, मताधिकारको प्रयोग र नेतृत्व विकासबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले बताउनुभयो । निर्वाचनमा सहभागी विद्यार्थीहरूले नेपालको संविधानले सुनिश्चित गरेको मताधिकारको अभ्यास गर्दै आफ्ना प्रतिनिधिलाई लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित गरेका थिए ।

निर्वाचनको नतिजा अनुसार स्कुल क्याप्टेनमा नवराज पौडेल र पूजा खनाल निर्वाचित हुनभएको छ । त्यसैगरी, भाइस क्याप्टेनमा डिसिजन राई र युनिका राई विजयी हुनभएको छ  । निर्वाचनमा ति पदहरूका लागि १० जना विद्यार्थी उम्मेदवार चुनावी  प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचन समिति सदस्य शम्भुराज घिमिरेका अनुसार नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विशेष कार्यक्रमको आयोजना गर्दै शपथग्रहण गराइनेछ ।

सोही अवसरमा टीका, माला र अबिर सहित पद तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ । विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तर रुपमा विद्यालयले अगाडि बढाउँदै आएको छ ।