इटहरी । झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालय असुरक्षित बनेको छ ।
पहिलो पटक विद्यालयबाट पानी तान्ने मोटर चोरी भएको थियो । त्यसको केही दिनमै पुनः विद्यालयमा प्रवेश गरी चोरले कम्प्युटर, सिपियू, कक्षाकोठामा प्रयोग हुने स्पिकरलगायतका शैक्षिक सामग्री चोरी गरेको प्रधानाध्यापक बचना राईले जानकारी दिनुभयो ।विद्यालय परिसरमा रहेको दानपेटिका समेत फुटाएर त्यहाँ रहेको नगद पनि चोरी गरिएको छ । विद्यालयका अनुसार अभिभावक तथा विद्यालय भ्रमणमा आउनेहरू स्वेच्छाले सहयोग गर्न सकून् भनेर राखिएको दानपेटिकामा करिब ५ हजार रुपियाँ रहेको थियो ।
घटनापछि स्थानीय टोल विकास संस्था र विद्यालय व्यवस्थापन समितिको बैठक बसेर बुधबार इलाका प्रहरी कार्यालय दमकमा लिखित निवेदन बुझाइएको राईले बताउनुभयो । चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न, विद्यालय क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा चोरी भएका सामग्री फिर्ता गरिदिन माग गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो । बारम्बारको चोरीका घटनाले विद्यालयको पठनपाठनसँगै विद्यार्थीको सुरक्षाप्रति स्थानीयमा चिन्ता बढाएको छ ।


