इटहरी। झापाको बिर्तामोड नगरपालिका–९, गरामनीका होम सुवेदी हल्दिबारी गाउँपालिका–२ मा मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान हल्दिबारी गाउँपालिका–२ स्थित शम्भु चोक नजिकको खेतमा उहाँको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। स्थानीयवासीले बिहान हिलाम्मे खेत नजिक एक व्यक्ति घोप्टो परेर लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार सुवेदीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। स्थानीयका अनुसार उहाँ बिर्तामोडबाट हल्दिबारीस्थित आफन्तको घरतर्फ जाँदै हुनुहुन्थ्यो। घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


