इटहरी। विराटनगर महानगरपालिका–१५ रानीस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको ढाट बन्दको विवादले बिहीबार रानी नाका तनावग्रस्त बनेको छ। ३ नम्बर ढाट पूर्ण रूपमा बन्द गरिएको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएपछि भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य १ नम्बर ढाटसमेत बन्द गरिँदा नेपाल–भारतबीच मानिस र सवारीसाधनको आवतजावत अवरुद्ध भएको हो।

स्थानीयका अनुसार कोरोना महामारीयता ३ नम्बर ढाटमा सवारीसाधन सञ्चालन रोकिएको भए पनि पैदल यात्रुलाई आवतजावत गर्न दिइँदै आएको थियो। तर बिहीबारदेखि फलामको सिक्री लगाएर मानिससमेत हिँड्न नपाउने गरी ढाट बन्द गरिएपछि त्यसको विरोधमा चाइना मार्केटका व्यापारी, स्थानीयवासी तथा सीटी सफारी चालक आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनकारीले ३ नम्बर ढाट तत्काल खुला गर्नुपर्ने माग गर्दै जोगवनी बजार प्रवेशको मुख्य १ नम्बर ढाट बन्द गरेका थिए। उनीहरूले मानिस र सवारीसाधन दुवैलाई आवतजावत गर्न मिल्ने गरी ३ नम्बर ढाट सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै ढाटमा तोडफोडको प्रयाससमेत गरेका थिए।

१ नम्बर ढाट इलाका प्रहरी कार्यालय रानी ९सीमा०सँगै जोडिएको क्षेत्र भएकाले आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सामान्य लाठीचार्ज गरेको थियो। त्यसपछि केहीबेर भागदौडको अवस्था सिर्जना भएको थियो। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। स्थानीय व्यापारी रन्जित ठाकुरले ढाट पूर्ण रूपमा बन्द गरिएकाले दैनिक व्यापार व्यवसाय र सर्वसाधारणको आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको बताए। उनका अनुसार बुधबार बिहान ११ बजेदेखि १ नम्बर ढाट बन्द गरेर आन्दोलन सुरु गरिएको हो। प्रहरीको लाठी प्रहारबाट केही व्यक्ति सामान्य घाइते भएको उनले जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले समस्या समाधानका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायबीच छलफल भइरहेको बताए। उनका अनुसार आन्दोलनकारीलाई सम्झाइबुझाइ गर्ने प्रयास जारी छ। स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने अवस्था देखिएपछि सुरक्षाकर्मीले सामान्य बल प्रयोग गर्नुपरेको र अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको उनले बताए।