इटहरी — इटहरी उपमहानगरपालिका वडा नं. ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा सञ्चालित एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। तालिमको समापन समारोहमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ३ की महिला वडा सदस्य पवित्रा कोइरालाले गर्नुभएको थियो। समारोहलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले वर्तमान समयमा सीपमूलक तालिमसँगै नेतृत्व विकाससम्बन्धी कार्यक्रमको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै समुदायमा सक्षम नेतृत्व विकास गर्न तथा युवादेखि महिलासम्म सबै वर्गलाई आत्मविश्वासी र सक्षम बनाउन यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।
वडा नं. ३ का अध्यक्ष उमेश सुवेदीले लक्षित वर्गका लागि विनियोजन गरिएका कतिपय बजेट अपेक्षाअनुसार परिणाममुखी हुन नसके पनि यस तालिमले सहभागीहरूको बोल्ने कला, आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो। यस्ता कार्यक्रम अझ प्रभावकारी बनेमा आगामी दिनमा थप बजेट विनियोजन गरी निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।
समापन समारोहको अध्यक्षता गर्दै वडा सदस्य पवित्रा कोइरालाले विशेषगरी महिलाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सार्वजनिक बोल्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले यस्तो तालिम सञ्चालन गरेको बताउनुभयो। तालिमपछि महिलाहरूमा आत्मविश्वास र नेतृत्व क्षमता बढेको देख्दा आफू उत्साहित भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

यसअघि तालिमको उद्घाटन सत्रको अध्यक्षता वडा सदस्य मिना रसाइलीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विशेषगरी महिलाहरूको बोल्ने क्षमता, नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धिलाई लक्षित गरी वडा कार्यालयले बजेट व्यवस्थापन गरेर तालिम सञ्चालन गरेको बताउनुभएको थियो। यस्ता कार्यक्रमले महिलाहरूमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभएको थियो। समापन कार्यक्रममा वडा सदस्य मिना रसाइली, वडा सचिव रिता सुब्बा, वडा अन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
एक सातासम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमपछि सार्वजनिक रूपमा बोल्न हिच्किचाउने सहभागीहरू समेत आत्मविश्वासका साथ आफ्नो धारणा प्रस्तुत गर्न सक्ने भएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए। तालिममा विराट टेलिभिजनका डाइरेक्टर तथा प्रशिक्षक सीमा बस्नेत र विकल पौडेलले सहजीकरण गर्नुभएको थियो। तालिमले सहभागीहरूको नेतृत्व क्षमता, सञ्चार सीप र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।


