इटहरी । पाँचथरका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षाको वातावरण विकास गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमले सकारात्मक नतिजा देखाउन थालेको छ । 

विद्यालय भवन, शौचालय, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालाजस्ता संरचना निर्माणसँगै शिक्षक क्षमता विकास, विद्यार्थी सहयोग र अभिभावकको आर्थिक सशक्तीकरणका कार्यक्रमले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन थालेको हो ।ह्युमन प्राक्टिस फाउन्डेसन ९एचपिएफ०ले सञ्चालन गरेको उक्त परियोजनालाई ‘स्कुल इन्फ्रास्ट्रक्चर, फेसिलिटिज एन्ड लर्निङ इम्प्रुभमेन्ट प्रोजेक्ट’ भनिएको छ । जस अन्तर्गत पाँचथरमा हालसम्म चार वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन । हिलिहाङको सिद्ध माध्यमिक विद्यालय, फालेलुङको सरस्वती माध्यमिक विद्यालय, फाल्गुनन्दको जनकल्याण माध्यमिक विद्यालय तथा फिदिमको लुम्फाबुङ माध्यमिक विद्यालयमा नया भवन निर्माण सम्पन्न भएको परियोजनाको प्रमुख अमित श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महादेव गुप्तेश्वर माओयाम, अमरपुर मावि अमरपुर, दुर्गा मावि सराङडाँडा र जयभवानी माध्यमिक विद्यालय हिलिहाङमा भवन निर्माण कार्य जारी छ ।

विद्यालय भवनसँगै चार विद्यालयमा आधुनिक शौचालय निर्माण सम्पन्न गरिएको छ । विद्यालयहरूमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा बालमैत्री सिकाइ कक्ष स्थापना गरिएका छन् । यस्ता सुविधाले विद्यार्थीलाई प्रयोगात्मक तथा प्रविधिमैत्री शिक्षामा पहुच बढाएको लुम्फावुङका अविभावक बालकृष्ण लावतीले बताउनुभयो। यो कार्यक्रमका लागि चालु आर्थिक वर्ष ९सन २०२६ भित्र० खर्च गर्नेगरी मा विद्यालय पूर्वाधार कार्यक्रमका लागि विनियोजित ६ करोड ५० लाख रुपियाँमध्ये ५ करोड ८८ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । समग्र परियोजनामा हालसम्म १० करोड रुपियाँभन्दा बढी लगानी भएको परियोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

परियोजना अन्तर्गत १७ विद्यालयका शिक्षकलाई पाठ्यक्रम कार्यान्वयन, सूचना प्रविधि, शैक्षिक सामग्री निर्माण तथा नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । विद्यार्थीका लागि अङ्ग्रेजी स्पिकर्स क्लब, अतिरिक्त सिकाइ सहयोग, परीक्षा तयारी कक्षा तथा जीवनोपयोगी सिप विकास कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजनाले आर्थिक रूपमा कमजोर परिवारलाई पनि लक्षित गरेको छ । पाँचथरका २२ विद्यालयमार्फत सञ्चालन गरिएको लघुउद्यम कार्यक्रमबाट १७६ अभिभावक लाभान्वित भएका छन् । तीमध्ये ७९ जना व्यवसाय सञ्चालनको प्रारम्भिक चरणमा पुगेका छन् भने कार्यक्रममार्फत हालसम्म ४७ लाख ८६ हजार रुपियाँभन्दा बढी लगानी गरिएको छ ।

श्रेष्ठले विद्यालय भवन निर्माणसँगै गुणस्तरीय शिक्षाका लागि आवश्यक सिकाइ वातावरण विकासमा परियोजनाले जोड दिएको बताउनुभयो । पूर्वाधार, प्रयोगशाला, पुस्तकालय तथा शिक्षक क्षमता विकासका कार्यक्रमले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउन थालेको उहाँको दाबी छ । लुम्फाबुङ माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरिता लावतीले नया भवन, पुस्तकालय, शौचालय तथा सिकाइ सामग्रीको व्यवस्थापनपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएको बताउनुभयो । हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी समुदाय, स्थानीय सरकार र साझेदार संस्थाको सहकार्यमा सञ्चालित कार्यक्रमले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। फिदिममा आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।