इटहरी । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकामा सञ्चालन गरेको “राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम–आन्तरिक रोजगार सिर्जना“ अन्तर्गतको १० दिने बेकरी तालिम सम्पन्न भएको छ ।
असार ९ गते देखि सञ्चालन भएको तालिम बुधबार नगरपालिकाको सभाहलमा आयोजित समापन समारोहबीच सम्पन्न भएको हो । तालिममा १० जना सहभागीले बेकरी उत्पादन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन् । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्जुन माबुहाङले बेकरी उद्योग केवल व्यवसाय मात्र नभई जनस्वास्थ्य सँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले उत्पादनलाई अर्गानिक, गुणस्तरीय र स्वास्थ्यमैत्री बनाउनुपर्नेमा विशेष जोड दिनुभयो ।
स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको अधिकतम उपयोग गर्दै स्वस्थकर खाद्यवस्तु उत्पादन गर्न सके स्थानीय बजार विस्तार हुनुका साथै उपभोक्ताको विश्वास पनि मजबुत बन्ने उहाँको भनाइ थियो । उहाँले तालिमबाट प्राप्त सीपलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै स्वदेशमै स्वरोजगार सिर्जना गरी सफल उद्यमी बन्न प्रेरित गर्नुभयो। सीप, परिश्रम र नवीन सोचको संयोजनबाट स्थानीय उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय रोजगारी सिर्जना, उद्यम विकास र आर्थिक आत्मनिर्भरताको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ ।


