इटहरी। नेपाल–भारत खुला सीमामा बढ्दै गएका सुरक्षा चुनौती तथा सीमापार अपराध नियन्त्रणमा स्थानीय समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले मोरङमा सीमावासीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।
बिहीबार विराटनगर महानगरपालिका–१८ स्थित नेपाल कस्टम यार्डमा आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी, मोरङका गणपति एसपी गेहेन्द्रबहादुर भण्डारीले सीमा सुरक्षालाई सुरक्षा निकायको मात्र नभई समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले सीमापार हुने अवैध गतिविधि, लागुऔषध ओसारपसार, तस्करीलगायतका घटनाबारे समयमै सूचना उपलब्ध गराउन स्थानीयसँग आग्रह गर्नुभयो। स्थानीयको सक्रिय सहयोगबाट मात्रै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल–भारत सीमाको वर्तमान सुरक्षा अवस्था, दशगजा क्षेत्रको अतिक्रमण, भारतीय सीमा सुरक्षा बल ९एसएसबी०सँग सम्बन्धित व्यवहार, सीमापार आवतजावतका क्रममा देखिएका समस्या तथा लागुऔषध नियन्त्रणका विषयमा छलफल गरिएको थियो।
छलफलका क्रममा सीमावासीले दशगजा क्षेत्रमा हुने अतिक्रमण, सीमामा भोग्नुपरेका व्यवहारगत समस्या, लागुऔषधको बढ्दो प्रभाव तथा प्रशासनिक जटिलताबारे आफ्ना गुनासा र सुझाव राखेका थिए। एसपी भण्डारीले प्राप्त सुझाव सम्बन्धित निकायसम्म पुर्याइने तथा आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो। सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अन्तरक्रियालाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

