इटहरी । झापाको दमक र अर्जुनधारामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
दमक नगरपालिका–५ नारायणगोपाल टोलस्थित भित्री सडकखण्डमा राति करिब ८ः५५ बजे चिया बगानबाट दमक बजारतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ९१३२ नम्बरको स्कुटर र विपरीत दिशाबाट गइरहेको प्रदेश १–०१–०१३ प ३९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक दमक–९ निवासी ६२ वर्षीय जेम्स टप्पो घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको छ। त्यस्तै मोटरसाइकल चालक दमक–२ निवासी ४१ वर्षीय चन्द्र राईको दुवै हातखुट्टा तथा दाहिने आँखाको डिलमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको अवस्था बोल्न सक्ने रहेको र उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब निरीक्षक भुवनेश्वर यादवको नेतृत्वमा टोली खटिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन्। यस्तै, अर्जुनधारा नगरपालिका–८ स्थित पेट्रोल पम्प नजिक शनिश्चरे–बिर्तामोड सडकखण्डमा राति करिब ८ः४० बजे मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। बिर्तामोडबाट शनिश्चरेतर्फ जाँदै गरेको मे ११ प ७८६४ नम्बरको मोटरसाइकलले पैदलयात्री २३ वर्षीय गणेश कार्कीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–१ निवासी ३१ वर्षीय मुकेश आचार्यको ढाडमा चोट लागेको छ भने कार्कीको दाहिने हात र खुट्टामा दुखाइ रहेको छ।
दुवै जनाको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। इते दुवै जनाको शनिश्चरेस्थित शंकर अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय शनिश्चरेबाट प्रहरी सहायक निरीक्षक धनञ्जयकुमार ताजपुरियाको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

