इटहरी । पाँचथर प्रहरीले अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ कन्याटार स्थित राँके–रवि–भेडेटार सडक खण्डमा सवारी चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन । प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णका अनुसार प्र।१–०१–१४ प ६०४५ नम्बरको यामाहा एमटी–१५ मोटरसाइकल रोकेर जाँच गर्दा चालक मिक्लाजुङ गाउँपालिका–५ का २५ वर्षीय दिलविर माखिम र पछाडि सवार सोही गाउँपालिका–५, कुरुम्बाका ३७ वर्षीय मनकुमार माखिमको साथबाट एकनाले भरुवा बन्दुक बरामद भएको हो ।
बरामद बन्दुक खाली अवस्थामा रहेको प्रहरीले जनाएको छ ।दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

