इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा जैविक तथा कम्पोष्ट मल निर्माण कारखानाको उद्घाटन गरिएको छ ।
नगरपालिकाको कृषि विशेष अनुदान कार्यक्रम अन्तर्गत स्थापना गरिएको कारखानाले स्थानीय किसानलाई गुणस्तरीय जैविक मल उत्पादन तथा अर्गानिक खेती प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको उल्लेख गर्दै अब अर्गानिक खेती नै दिगो कृषि विकासको आधार भएको बताउनुभयो ।
उहाँले नगरपालिकाले किसानलाई अर्गानिक उत्पादनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त परियोजनामा लालीगुराँस नगरपालिकाले संरचना निर्माणका लागि ७ लाख ५० हजार र डिभिजन वन कार्यालय, तेह्रथुमले मेसिन खरिदका लागि ९ लाख सहयोग गरेको छ । स्थानीय समूहको लागत सहभागिता सहित १७ लाख ६२ हजार ५ सय लागतमा निर्माण सम्पन्न भएको कारखानाको व्यवस्थापन तिनजुरे रात पोखरी सामुदायिक वन उपभोक्ता समूहले गर्नेछ ।
कारखाना सञ्चालनमा आएपछि स्थानीय स्तरमै जैविक तथा कम्पोष्ट मल उत्पादन भई अर्गानिक खेती विस्तार, उत्पादन लागत न्यूनीकरण, वातावरण संरक्षण तथा किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।


