इटहरी। बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन् । तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई विशेष अनुरोध गरेको छ ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ । अकस्मात बाढी आउनसक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ ।
भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ । चक्रवातबाट सम्भावित क्षति न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ ।

