इटहरी स् सुनसरीमा लागुऔषधविरुद्ध प्रहरीले चलाएको कारबाहीका क्रममा ब्राउन सुगरसहित तीन जना र औषधिजन्य लागुऔषधसहित अर्का एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनीहरू पक्राउ परेका हुन्। कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका–५ का ४२ वर्षीय यामकुमार राईलाई पक्राउ गरेको छ। पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका राईलाई शंका लागेर जाँच गर्दा उनको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, धरान उपमहानगरपालिका–८ अरुण टोलस्थित फलामे पुलमा लागुऔषध बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले स्थानीय ३१ वर्षीया सलिना राईको घरकोठामा खानतलासी गरेको थियो। अस्थायी प्रहरी चौकी बरगाछी र तीनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको साथबाट ०।८५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। यसैगरी, धरान–५ गैरीगाउँमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त टोलीले स्थानीय ३६ वर्षीय अमिर सार्कीलाई पक्राउ गरेको छ। उनको कोठामा खानतलासी गर्दा ०।४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

क्यातथ

यस्तै, इटहरी उपमहानगरपालिका–११ सम्झना टोलमा गरिएको चेकजाँचका क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का २७ वर्षीय अरुण माझी पक्राउ परेका छन्। प्रहरी चौकी खनारबाट खटिएको टोलीले प्रदेश १–०२–०४१ प २५४६ नम्बरको मोटरसाइकलमा सवार माझीको साथबाट ट्रामाडोल ८१० क्याप्सुल र डाइकोलोमिन ८०० ट्याब्लेट बरामद गरेको हो। प्रहरीले लागुऔषधसँगै मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।