इटहरी । मोरङको पथरी शनिश्चरे –०१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले  अभिभावक भेला, सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको छ ।

शनिबार विद्यालयको प्राङ्गणमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता एवं वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ‘पञ्चायत वाणी’ कृतिको लोकार्पण गरिनुका साथै विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै पूर्व शिक्षकहरू वेदनिधि गड्तौला, गुरूप्रसाद दहाल, दिनेश कुमार सुवेदी र बुद्धिनाथ अधिकारीलाई विशेष सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न स्मृति कोषका दाताहरू सीतादेवी गड्तौला, प्रेम गीता बुढाथोकी, ईन्द्र कमल बास्कोटा र नवीन ढकाललाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमकै बीच पूर्व शिक्षक अधिकारीले आफ्नी दिवंगत हजुरआमा कृष्णमाया अधिकारीको स्मृतिमा विद्यालयमा ७५ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा समेत गर्नुभयो ।

सोही अवसरमा प्रमुख अतिथि नगरप्रमुख तुम्वापोले कोशी प्रदेशमै एक अब्बल विद्यालयको साख जोगाउन सफल भएको बताउँदै विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीको सकृयतामा निकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। सोही क्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले  हिजो विद्यालय थुप्रै आरोह अवरोह पार गर्दै यो अवस्थामा आइपुगेको छ, त्यसलाई जोगाई राख्ने जिम्मा विद्यार्थी र अभिभावकहरूको भुमिका महत्वपुर्ण हुने बताउनुभयो।  

पूर्व प्रधानाध्यापक समेत रहनुभएका  संविधान सभा सदस्य चण्डी प्रसाद राईले शुभ–कामना मन्तब्य राख्नु भएको  थियो। विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले  संचालन गरेको उक्त कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु क्रमशः देवराज भण्डारी, आइत कुमारी तुम्वापो, युवराज बास्कोटा, तुलसीराम ढकाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।