इटहरी । रोट्रयाक क्लब अफ इटहरीले आफ्नो १९ औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रम मार्फत मनाएको छ ।

भ्वाइस अफ चिल्ड्रेन  इटहरीमा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री वितरण तथा उनीहरूसँगै रात्रीभोज कार्यक्रम आयोजना गर्दै क्लबले स्थापना दिवसलाई अर्थपूर्ण बनाएको हो। नवनिर्वाचित अध्यक्ष अनुप्रास बिष्टको कार्यकालको अवसरमा आयोजित उक्त कार्यक्रममा क्लबका सदस्यहरूले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै आत्मीयतापूर्वक समय बिताएका थिए ।

रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले स्थापना दिवसलाई औपचारिक समारोह भन्दा सेवामूलक कार्यमार्फत मनाउन पाउँदा गर्व लागेको बताउँदै बालबालिकाको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रोटरीका पूर्वअध्यक्ष नरेन्द्र अग्रवालले १९ वर्षअघि युवाहरूलाई सामाजिक सेवामा आबद्ध गराउने उद्देश्यका साथ रोट्रयाक क्लब स्थापना गरिएको स्मरण गर्दै हाल यो अभियान साकार भएकोमा खुसी व्यक्त गर्नुभयो।

भ्वाइस अफ चिल्ड्रेनका प्रमुख भरत थापाले यस सहयोगले बालबालिकामा उत्साह जगाउने भन्दै आभार प्रकट गर्नुभयो। कार्यक्रममा रोटरीका पूर्वअध्यक्षहरू अनन्त बिष्ट, कृष्णराज श्रेष्ठ तथा रोट्रयाकका पूर्वअध्यक्षहरू बिमल पराजुली, विकल पौडेल, भुपेन्द्र निरौला, देवराज काफ्ले, शीतल धिताल र रोट्रयाक क्लब अफ सुनसरीकी चार्टर अध्यक्ष माला धिताल सहित पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले आगामी दिनमा पनि यस्ता मानवीय तथा सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।