इटहरी । मोरङको लेटाङमा शनिबार दिउँसो दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते लावतीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो। दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते हुनुभएको छ। उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राई पनि सामान्य घाइते हुनुभएको छ । चालक राईलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।