बराहक्षेत्र — बराहक्षेत्र नगरपालिका–५ अन्तर्गत लक्ष्मीपुर र गौरी टोलमा वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्यालाई लिएर स्थानीयवासी र वडा कार्यालयबीच विवाद चर्किएको छ। वडा कार्यालयले गौरी टोलका स्थानीयको मागअनुसार पानी निकास व्यवस्थापनको काम अघि बढाउन खोजेपछि प्रभावित लक्ष्मीपुरवासीले सबै पक्षको सहमति, प्राविधिक अध्ययन तथा दीर्घकालीन समाधानको माग गर्दै विरोध जनाएका हुन् ।
नगरपालिकाका अनुसार गौरी टोलबाट पानी निकास व्यवस्थापनको माग आएपछि आवश्यक सुरक्षा तथा समन्वयका लागि नगर प्रहरी कमान्डरलाई लिखित निर्देशन दिइएको थियो। त्यसपछि नगर प्रहरी, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराको समन्वयमा स्थलगत निरीक्षण गर्दै पानी निकासको काम अघि बढाउने प्रयास गरिएको जनाएको छ।तर स्थानीयवासीले वडा अध्यक्ष रोहित काफ्ले ले केही व्यक्तिको सुझावका आधारमा मात्रै निर्णय गरेको आरोप लगाएका छन्। करिब ३५ घरधुरी रहेको लक्ष्मीपुर टोलका बासिन्दाले आफूहरूको माग र सरोकारलाई बेवास्ता गरिएको दाबी गरेका छन्। स्थानीयका अनुसार पानी निकासको काम गर्दा कुनै पनि पक्षलाई क्षति नपुग्ने गरी वैज्ञानिक र दीर्घकालीन योजना बनाउनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको छ।
स्थानीयवासीले आर्थिक वर्ष २०८१/८२ मा पानी निकासका लागि बजेट विनियोजन भए पनि उपभोक्ता समितिमार्फत योजना सम्पन्न हुन नसकेको बताएका छन्। उपभोक्ता समितिले काम गर्न नसकेपछि नगरपालिकाले ठेक्का प्रक्रियामार्फत प्राविधिक अध्ययन गरी योजना कार्यान्वयन गर्न सक्ने अवस्था हुँदाहुँदै त्यसतर्फ आवश्यक पहल नभएको उनीहरूको गुनासो छ। साथै पछिल्ला दुई आर्थिक वर्षमा उक्त योजनाका लागि नयाँ बजेटसमेत विनियोजन नभएको उनीहरूको दाबी छ।
लक्ष्मीपुर गाउँ समाजका मुखिया दनालाल चौधरी का अनुसार लक्ष्मीपुर–कालाबन्जार क्षेत्रमा वर्षायाममा हुने डुबान नयाँ समस्या नभई वर्षौंदेखिको हो। उनका अनुसार गत वर्ष नगर प्रमुख र वडा अध्यक्षले स्थानीयको उपस्थितिमा कसैलाई असर नपर्ने गरी सडकको दुवैतर्फ मापदण्डअनुसार नाला निर्माण गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम अघि बढ्न सकेन। विवादका क्रममा नगर प्रहरी र नेपाल प्रहरीको उपस्थिति भएपछि स्थानीयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर दबाब सिर्जना गरिएको आरोप लगाए। यद्यपि प्रहरी अधिकारीहरूले दुवै पक्षको भनाइ सुनेर स्थलगत निरीक्षण गरेको र तत्काल काम अघि नबढाई नगर प्रमुखको उपस्थितिमा छलफल गरी समाधान खोज्ने आश्वासन दिएको स्थानीयले बताएका छन्।

प्रभावित स्थानीयमध्ये सुरेश चौधरी ले अहिले प्राकृतिक पानीको बहाव कसैले अवरुद्ध नगरेको दाबी गर्दै भविष्यमा ठूलो वर्षा हुँदा थप क्षति हुन नदिन वैज्ञानिक र दीर्घकालीन समाधान आवश्यक रहेको बताए।उनले भने, “सरकारले मापदण्डअनुसार सडकको दुवैतर्फ आवश्यक पर्ने जग्गा लिए हामी दिन तयार छौँ। यदि दुवैतर्फ स्थायी पानी निकासको व्यवस्था गरियो भने नगरको बजेट खर्च नगराई आफ्नै खर्चमा जेसीबी प्रयोग गरेर नाला सफा गर्नसमेत तयार छौँ। हामी विकास विरोधी होइनौँ, तर सबैलाई न्याय हुने योजना चाहन्छौँ। चार वर्षदेखि निकास हुने आश्वासन मात्रै पायौँ, काम भने भएन।” स्थानीयवासीले हालको अस्थायी समाधानले समस्या समाधान नहुने भन्दै तत्काल करिब १० देखि १२ लाख रुपैयाँ बजेट विनियोजन गरी मापदण्डअनुसार स्थायी नाला निर्माण गर्न माग गरेका छन्। यता वडा अध्यक्ष रोहित काफ्लेले वडासँग हाल पर्याप्त बजेट उपलब्ध नभएको बताउँदै सीमित स्रोत–साधनका कारण तत्काल स्थायी संरचना निर्माण गर्न कठिनाइ रहेको प्रतिक्रिया दिएका छन्। आवश्यक बजेट व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरिने उनको भनाइ छ।
स्थानीयवासीले निष्पक्ष र दीर्घकालीन समाधान नभए जिल्ला प्रशासन कार्यालय हुँदै आवश्यक परे प्रदेश र संघीय सरकारसम्म पुगेर न्यायको माग गर्ने चेतावनी दिएका छन्। स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा प्लटिङ, सडक विस्तार तथा बस्ती विकासका क्रममा प्राकृतिक खोल्सा, कुलो, पानी बग्ने मार्ग तथा खेतीयोग्य जमिन साँघुरो वा अवरुद्ध हुँदै गएकाले वर्षायाममा सडक डुबान, घरमा पानी पस्ने, खेतीयोग्य जमिनमा क्षति पुग्ने तथा बालबालिकाको सुरक्षामा समेत जोखिम बढ्दै गएको छ।


