इटहरी । झापाका बिर्तामोड र दमकमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई मोटरसाइकल चालक घाइते भएका छन्।

राति ११स्२० बजे बिर्तामोड नगरपालिका–५ स्थित सुब्बा चोकको भित्री सडकमा महानन्द चोकबाट कनकाई रोडतर्फ जाँदै गरेको मे ११ प ३२९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–५ निवासी ३१ वर्षीय रुद्रबहादुर कार्की घाइते भएका छन्।

उनको बायाँ आँखाको छेउ र दाहिने हातको कुहिनामा चोट लागेको छ। उपचारका लागि कनकाई अस्पताल पठाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी सहायक हवल्दार भुवनेश्वर मुखियाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ।

त्यसको करिब १० मिनेटपछि राति ११स्३० बजे दमक नगरपालिका–१ स्थित रवि स्टेन्डको भित्री सडकमा अर्को दुर्घटना भएको थियो। सैनिक टोलबाट रवि स्टेन्डतर्फ जाँदै गरेको को ३५ प ३७३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा चालक दमक–७ श्रीपाली चोक निवासी ३१ वर्षीय अविन चौधरी घाइते भएका हुन्।

दुर्घटनामा चौधरीको निधार, गाला, मुख र बायाँ हातमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको दमक अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा उनकी दिदी ममता चौधरी संलग्न रहेकी छन्। घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नरेशकुमार खवासको नेतृत्वमा टोली खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।