इटहरी । नेशनल प्याब्सन सुनसरीको आयोजनामा आइतबार इनरुवामा निरन्तर मूल्याङ्कन प्रणाली सिएएस सम्बन्धी एकदिवसीय शिक्षक तालिम सम्पन्न भएको छ।

सुनसरीका ३० वटा निजी विद्यालयका १ सय भन्दा बढी प्राथमिक तहका शिक्षक–शिक्षिकाको तालिममा सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्रबहादुर मल्लले परीक्षा केन्द्रित शिक्षा भन्दा विद्यार्थीको निरन्तर सिकाइ, व्यवहार र सीपको मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षण शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूलाई समयानुकूल तालिम आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले बदलिँदो शैक्षिक परिवेश अनुसार शिक्षकहरू अपडेट हुनुपर्ने र सिएएस प्रणालीले विद्यार्थीको वास्तविक अवस्था पहिचान गर्न सघाउने उल्लेख गर्नुभयो । कार्यक्रमका अध्यक्ष एवं नेशनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसीले जिल्लाका निजी विद्यालयमा आधुनिक, व्यवहारिक र विद्यार्थी केन्द्रित शिक्षण प्रणाली स्थापित गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।

प्रशिक्षक प्रदीप बिष्टले बालमैत्री शिक्षण विधि र विद्यार्थीको प्रभावकारी मूल्याङ्कनबारे सहजीकरण गरेको उक्त कार्यक्रम किड्स पब्लिकेसनको सहयोगमा सम्पन्न भएको हो ।