इटहरी। पाँचथरको शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डअन्तर्गत नाम्दु खोलामा आर्क प्रविधिको आरसीसी पुल निर्माण सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, पाँचथरले उक्त पुल निर्माण गरेको हो । ‘नाम्दु खोला पुल निर्माण आयोजना’ अन्तर्गत ३०।३८ मिटर लम्बाइको आधुनिक आर्क आरसीसी पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, पाँचथरले जनाएको छ। पुल निर्माणको जिम्मा संजीव निर्माण सेवा प्रालि, फिदिमले पाएको थियो । यो आयोजना २०८० वैशाख १४ गते सुरु भई हालै सम्पन्न भएको हो। २०८२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि २०८१ असोज १२ गते आएको बाढीले निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि काम सम्पन्न गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालय, पाँचथरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो ।
पुल निर्माणमा ३ करोड ४५ लाख रुपियाँभन्दा बढी लागत लागेको जनाइएको छ। आयोजनामा स्थानीय सडक पुल कार्यक्रम ९एलआरबीपी० तथा स्विस विकास सहयोग ९एसडीसी० को प्राविधिक सहयोग रहेको उल्लेख गरिएको छ । कमानी ९आर्क० आकारमा निर्माण गरिएको आरसीसी पुल बलियो, टिकाउ तथा बाढीको बहाव सहन सक्ने क्षमतायुक्त मानिन्छ। प्राविधिकहरूका अनुसार यस्तो संरचनाले पुलमा पर्ने भारलाई दुवैतर्फ समान रूपमा वितरण गर्ने भएकाले दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी हुन्छ।
पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या हटेको छ। साथै शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डमा यातायात सेवा थप सहज, सुरक्षित र भरपर्दो बनेको स्थानीय चालक धनबहादुर विश्वकर्माले बताउनुभयो।


