इटहरी । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा अवस्थित श्री मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । गाउँमै माध्यमिक शिक्षा ९कक्षा ९ देखि १२ सम्म० अन्तर्गत सिभिल इन्जिनियरिङको अध्ययन सुरु भएपछि विद्यार्थीको चासो उल्लेख्य रूपमा बढेको हो ।

विश्वकै सबैभन्दा होचो भूभागमध्ये पर्ने अरुण उपत्यका ९समुद्री सतहबाट ४५७ मिटर उचाइ० मा रहेको यो विद्यालय वि।सं। २०१६ सालमा स्थापना भएको हो । वि।सं। २०७३ सालदेखि माध्यमिक तहमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरिएको थियो । हाल प्राविधिक धारतर्फ १०३ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा नर्सरीदेखि १२ सम्म कुल १ हजार ४४२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कुबिरप्रसाद भेटुवालले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा रहेका चुनौतीका बीच पनि विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा एकै पटक ४६ वटा कक्षा सञ्चालन हुने गरेको छ । प्राविधिक धारतर्फ विद्यार्थीले पुस्तक तथा अन्य शैक्षिक सामग्रीका लागि मासिक करिब ४ हजारदेखि ५ हजार रुपियाँसम्म तिर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

विद्यालयमा सुविधासम्पन्न प्रयोगशाला र प्रविधिको उच्च प्रयोगसहित पठनपाठन भइरहेको छ । पहाडी क्षेत्रमा पनि सामुदायिक विद्यालयमै सुलभ रूपमा सिभिल इन्जिनियरिङ पढ्न पाइनुले रोजगारीको अवसर बढाएको कक्षा १० मा अध्ययनरत छात्रा लक्ष्मी सुनुवारले बताउनुभयो । उहाँका अनुसार विद्यालयमै फिल्ड अभ्याससहितको अध्ययनले व्यावहारिक ज्ञान र सीप विकासमा सहयोग पुगेको छ । त्यस्तै, अर्का विद्यार्थी भविष बस्नेतले भविष्यमा इन्जिनियर बनेर समाज र राष्ट्रको सेवा गर्ने लक्ष्यसहित अध्ययन गरिरहेको बताउनुभयो । विद्यालयले कक्षा ९ बाटै सिभिल इन्जिनियरिङ पढाउन थालेपछि इन्जिनियरिङ पढ्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

वि।सं। २०६१ सालदेखि शिक्षा शास्त्र संकायबाट कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको यस विद्यालयले वि।सं। २०६६ देखि व्यवस्थापन संकायको पढाइ पनि सुरु गरेको थियो । वि।सं। २०७३ मा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरिएको हो । संखुवासभा मात्र नभई भोजपुर, तेह्रथुम लगायत छिमेकी जिल्लाबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका विद्यालय प्रशासनले जनाएको छ । विश्वकै सबैभन्दा होचो उपत्यकामा अवस्थित भएकाले अत्यधिक गर्मीका कारण विद्यालयमा सामूहिक प्रार्थना गरिँदैन । घण्टी बज्नेबित्तिकै विद्यार्थीहरू आ–आफ्नो कक्षाकोठामा राष्ट्रगान र सरस्वती वन्दनामा सहभागी हुने गरेका छन् । विद्यार्थीलाई योग तथा ध्यानसमेत सिकाउने गरिएको छ ।

विद्यालयको चुस्त व्यवस्थापन, शैक्षिक गतिविधि र उत्कृष्ट नतिजाका कारण यो विद्यालयले प्रदेश सरकारबाट विभिन्न वर्षमा पुरस्कारसमेत प्राप्त गरेको छ । वि।सं। २०७४ मा पाँच लाख, २०७५ मा तीन लाख र २०७८ मा १४ लाख ५० हजार रुपैयाँसहित उत्कृष्ट व्यवस्थापन भएको विद्यालयका रूपमा पुरस्कृत भइसकेको विद्यालयले जनाएको छ ।