इटहरी। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कृषकले उत्पादन गरेको मूलाले बजारमा उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा परेका छन्।
नयाँ बाली लगाउने समय नजिकिँदै गर्दा पनि मूलाको बिक्री हुन नसक्दा उत्पादन खेतमै नष्ट हुन थालेको हो। छथर जोरपाटीलाई कोशी प्रदेशकै तरकारी उत्पादन क्षेत्रका रूपमा पनि चिनिन्छ। जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे, रोटे आहाललगायत क्षेत्रका किसान व्यावसायिक रूपमा मूला खेती गर्दै आएका छन्। यो समयमा पुरानो बाली उठाएर नयाँ बाली लगाउने समय भए पनि उत्पादनले बजार नपाउँदा बारीमै कुहिन थालेको छ।
स्थानीय कृषक अम्बिका भट्टराईका अनुसार लागत खर्चसमेत नउठ्ने भएपछि रासायनिक विषादी प्रयोग गरेर र यान्त्रिक रूपमा जोतेर मूलो नष्ट गर्न बाध्य हुनुपरेको छ। कृषकहरूले वर्षेनी बन्दा, काउली र मूलाजस्ता तरकारीले उचित मूल्य नपाउने समस्या भोग्दै आएको बताएका छन्। स्थानीय सरकारले पनि बजार व्यवस्थापनमा चासो नदेखाएको उनीहरूको गुनासो छ। लागत घटाएर बिक्री गर्दा पनि नाफा नभई उल्टै घाटा हुने अवस्था रहेको कृषकहरूको भनाइ छ।
यतिबेला बारीमा कुहिएका मूलाका कारण दुर्गन्ध फैलिन थालेको छ। तर बजार व्यवस्थापन र राहतका लागि सरकारी निकायबाट कुनै ठोस पहल नभएको कृषकहरूको आरोप छ। गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार यस क्षेत्रका करिब ३ हजारभन्दा बढी किसान प्रभावित भएका छन्। उहाँले आफू स्वयंले पनि करिब २० रोपनी क्षेत्रफलमा लगाएको मूला बारीमै कुहिएर नष्ट गर्नुपरेको बताउनुभयो। कृषकहरूले उत्पादन उखेलेर फाल्ने, काटेर छाड्ने तथा बारीमै कुहिन दिने अवस्था आएको छ। बजार नियन्त्रण गर्ने अधिकार स्थानीय तहसँग सीमित भएकाले तत्काल राहत दिन कठिन भएको स्थानीय सरकारको भनाइ छ।
यस वर्ष मात्रै यस क्षेत्रका किसानले मूलाको उचित मूल्य नपाउँदा करिब दुई करोड रुपियाँभन्दा बढी क्षति व्यहोर्नुपरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो। अहिले धेरै किसानले मूलाको सट्टा बन्दाकोपी र काउली खेती गर्ने तयारी गरिरहेका छन्।


