इटहरी । गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि झापा पुग्नुभएको छ । आइतवार साँझ झापा आएर यतै बास बस्नुभएका गुरुङ्गले सोमवार विहानै झापामा रहनुभएका जेन्जी आन्दोलनका घाइतेको घरमा पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
गृहमन्त्री गुरुङ्गले जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका बुद्धशान्ति गाउँपालिका –६ हापेन चौकका अङ्कित शर्माको घरमा गएर उहाँको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुभएको हो । यसैबिच गृहमन्त्री गुरुङ्गले नेपाल–भारत सिमास्थित पूर्वीद्वार मेची पुल र मेची भन्सार क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । अवलोकनलको क्रममा गृहमन्त्री गुरुङ्गले मेचीनगर नगरपालिका –८ जोरसिमलमा रहेको अस्थायी चेकपोस्टलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ । गुरुङ्गले सिमा सुरक्षामा रहेका प्रहरीहरुका लागि शौचालय समेत नरहेको भन्दै अस्थायी चेकपोस्टलाई हटाउन निर्देशन दिनुभयो । मन्त्री गुरुङ्गले मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीलाई चेकपोस्टका लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।
नागरिकको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको आफैँ बिजोग भएको भन्दै गृहमन्त्रीले प्रहरी चेकजाँचका लागि व्यावस्थित स्थानका लािग जमिनको व्यावस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा गृहमन्त्री गुरुङको जोड थियो । यता, मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेतीले आफ्नो कार्यकाल सकिन लागेको भन्दै सम्भव भएसम्म जमिनको व्यावस्थापन गर्ने बताउनुभयो । यसैबिच गृहमन्त्री गुरुङले झापाको प्रहरी, स्थानीयवासी, व्यावसायी लगायतसमक्ष यस क्षेत्रको समस्याका बारेमा जानकारी लिनुभएको छ ।
गृहमन्त्री गुरुङले आज लामो समयदेखि हात्ती पीडितहरुको क्षेत्र मेचीनगर बाहुण्डाँगी क्षेत्रको समेत समस्या पहिचानका लागि जाने बताइएको छ । गृहमन्त्रीको अनुगनमा क्रममा मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख बसुन्धरा खड्का, सशस्त्र प्रहरी दुई नम्बर गण झापाका प्रमुख अम्बिकाप्रसाद जोशी, मेची भन्सार प्रमुख शिवलाल न्यौपाने लगायातको उपस्थिति थियो ।


